भोटेकोशी बाढीको विपद् सामना गर्न दलहरू एकजुट, १० बुँदे साझा संकल्प



काठमाडौं,भदौ ११ । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद् सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा बाढीले पुर्‍याएको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको हो। विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरिएको छ।बैठकमा घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका छन्। साथै, विपद् प्रभावितका लागि आर्थिक सहयोग संकलन गर्दा एकद्वार प्रणाली लागू गर्ने सहमति भएको छ।

दलहरूले हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि आवश्यक पहल गर्न तथा प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय गरेका छन्।

बाढीमा परेका नागरिकको उद्धार, राहत र व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिँदै बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय संघसंस्था र समुदायसँग सहयोगको अपिल गर्ने निर्णय पनि गरिएको छ।

सर्वदलीय बैठकले साझा संकल्पमार्फत सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्