भोटेकोशी बाढीको क्षति बुझ्न प्रधानमन्त्री शाह विदुरमा, सुरक्षा निकायसँग उच्चस्तरीय छलफल



नुवाकोट,भदौ ११ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे जानकारी लिन तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह आज नुवाकोटको विदुर आइपुग्नुभएको छ।

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुग्नुभएको हो। उहाँ विदुर नगरपालिकास्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको उच्चस्तरीय छलफलमा सहभागी हुनुभएको छ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्रीसहितको टोलीलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र हालसम्म सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यबारे जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री शाहको स्थलगत उपस्थितिसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने विषयमा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्