रसुवा बाढीको भयावह क्षति : मृत्यु हुनेको सङ्ख्या २५८ पुग्यो, ९१० जना सम्पर्कविहीन
काठमाडौं, भदौ ११ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म देशभर २५८ जनाको शव फेला परेको छ भने ९१० जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म प्राप्त विवरणअनुसार चितवनमा सबैभन्दा धेरै १०८ जनाको शव फेला परेको छ।
त्यस्तै नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा दुई जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।बाढीपछि नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना सम्पर्कविहीन रहेका छन्। रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्याङ्कमा उल्लेख छ।
प्रवक्ता महतका अनुसार ३५ देशका ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन छन्। नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १२७ जना नेपालीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ। खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट नौ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ७४२ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।
बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३५१ जना प्रभावितको उद्धार गरिएको छ। उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान गरिएको र उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।

