बाढी प्रभावित नुवाकोट पुगेर प्रधानमन्त्री शाह काठमाडौं फर्किए
काठमाडौं,भदौ ११ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री शाह आज बिहान साढे ९ बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुगेका थिए। प्रभावित बस्तीहरूको भौतिक अवस्था र बाढीबाट भएको क्षतिको अवलोकनपछि प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएको छ।रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहेका छन्। बाढीलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी उनले मातहतका निकायलाई आवश्यक निर्देशन दिएका थिए।
विदुर तथा आसपासका बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गरेका छन्। साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था तथा उद्धार र राहत कार्यबारे विस्तृत छलफल गरिएको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारलाई शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। स्थलगत निरीक्षण र आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली आजै काठमाडौं फर्किएको छ।

