प्रधानमन्त्री शाहद्वारा राहत र पुनर्स्थापनामा तीव्रता दिन निर्देशन
काठमाडौँ,भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ।
आज बिहान ९:३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्गबाट नुवाकोट पुग्नुभएका प्रधानमन्त्री शाहले प्रभावित बस्तीहरूको भौतिक अवस्था र बाढीबाट भएको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको हो।
रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएलगत्तै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाह सक्रिय रहनुभएको थियो। उहाँले उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।
प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।
स्थलगत निरीक्षण र आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहको टोली आजै काठमाडौँ फर्किएको छ।

