मन्त्रालयका सचिवसँग प्रधानमन्त्री शाहको आपतकालीन छलफल
काठमाडौँ,भदौ ११— प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ।
बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनुभएको हो।
बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धारसँग प्रत्यक्ष रूपमा जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारसम्म तत्काल राहत सामग्री पुर्याउन कडा निर्देशन दिनुभएको छ।
विशेषगरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत शिविर पूर्ण रूपमा व्यवस्थित र सफा हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। राहत शिविरमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न प्रधानमन्त्रीले स्पष्ट निर्देशन दिनुभएको छ।
त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचनालाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित प्रभावकारी रूपमा काम गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्रीले बाढीबाट उत्पन्न संकटको सामना गर्न सरकारका सबै निकायबीच प्रभावकारी समन्वय गर्दै राहत, उद्धार र पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ।

