‘उद्धार नसकिएसम्म राज्य मैदानमै’ : प्रधानमन्त्री शाहको बाढीपीडितका लागि २० बुँदे आपतकालीन योजना
काठमाडौँ,भदौ ११ — प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सरकारका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन भएको बताउनुभएको छ। प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र राहतलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभएको छ।
नुवाकोटको प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन गरी काठमाडौँ फर्किएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहे पनि उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित रहेको उल्लेख गर्नुभएको हो।
प्रधानमन्त्रीका अनुसार खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ८४५ जना रहेका छन्।
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर जारी रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। उहाँका अनुसार आज ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टरलाई तयारी अवस्थामा राखिनुका साथै निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ।
उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी रहेको र करिब तीन हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको उहाँले बताउनुभएको छ।
तत्काल राहतका लागि रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। चाउचाउ, बिस्कुट, सुत्ने झोला, गद्दा र कम्बललगायत राहत सामग्री बोकेका १० वटा ट्रक प्रभावित क्षेत्रमा पठाइएको तथा थप खाद्य र गैरखाद्य सामग्री हेलिकप्टरमार्फत पनि पुर्याइएको जनाइएको छ।
नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्था पनि राहत तथा उद्धारमा परिचालित भएका छन्। रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पारिनुका साथै वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर र ट्रमा सेन्टरमा एक सय–एक सय तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयारी अवस्थामा राखिएको जनाइएको छ।
प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको र आवश्यकताअनुसार चिकित्सकीय टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको प्रधानमन्त्रीले बताउनुभएको छ। उद्धार तथा राहत सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक तथा धादिङको बैरेनी ब्यारेकलाई केन्द्रका रूपमा प्रयोग गरिएको छ।
प्रभावित क्षेत्रमा जेनेरेटर, अस्थायी मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा अत्यावश्यक उपकरण पठाउने काम भइरहेको छ। विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सामग्रीसमेत त्रिशूलीतर्फ पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।दूरसञ्चार सेवा पुनःस्थापनालाई पनि आपत्कालीन प्राथमिकतामा राखिएको छ। हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा सेवा केन्द्र बन्द भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्राविधिक टोली, जेनेरेटर र ब्याट्री प्रभावित क्षेत्रमा पुर्याएर सेवा पुनःसञ्चालनको काम भइरहेको बताउनुभएको छ।
प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ। नेपाल टेलिकमले दैनिक दुई गिगाबाइट डाटा, ५० सन्देश तथा निःशुल्क फोन सेवाको व्यवस्था गरेको छ भने एनसेलले पनि निःशुल्क फोन, डाटा र सन्देश सेवा उपलब्ध गराएको जनाइएको छ।
सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। क्षतिग्रस्त संरचनाको मूल्याङ्कन गरी आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन पनि व्यवस्था गरिएको छ।नुवाकोटका विभिन्न इन्धन भण्डारण केन्द्रमा मौज्दात राखिनुका साथै थप डिजल, पेट्रोल र हवाई इन्धन पठाइएको छ।
वास्तविक क्षतिको विवरण संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण तथा स्थलगत मूल्याङ्कन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार र राहतलाई थप लक्षित बनाउने काम भइरहेको जनाइएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी तथा त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
प्रधानमन्त्रीले मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइने बताउनुभएको छ।विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली सङ्घ, विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय रेडक्रसलगायत साझेदारसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले सरकारको अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास र क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहने स्पष्ट पार्नुभएको छ। ‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ,’ प्रधानमन्त्री शाहले फेसबुकमार्फत भन्नुभएको छ, ‘उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्।’

