छोछेन खोला र भोटेकोशी संगममा ठूलो ताल बन्यो, फुट्ने जोखिम बढ्यो



काठमाडौं,भदौ ११ । नेपालस्थित छोछेन खोला र भोटेकोशी नदीको संगम नजिक ठूलो अवरोध ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी ओभरफ्लो हुन थालेको बताइएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्ने अनुमान गरिएको छ। यससँगै तालको प्राकृतिक बाँध फुट्ने जोखिम उच्च रहेको बताइएको छ।

चीनको सरकारी सञ्चारमाध्यमले मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर तालको अवस्थालाई निरन्तर निगरानी गरिएको जनाएको छ। ताल फुटेमा आउन सक्ने आकस्मिक बाढीको सम्भावित प्रभावबारे गणना तथा विश्लेषणसमेत भइरहेको बताइएको छ।

बुधबार बिहान नेपालतर्फबाट सुरु भएको ठूलो पहिरोपछि चीनको तिब्बत स्वशासित क्षेत्रअन्तर्गत सिगात्सेको केरुङ नाकामा ठूलो लेदोसहितको पहिरो पुगेको थियो। घटनामा ठूलो जनधनको क्षति भएको छ भने सयौँ व्यक्ति बेपत्ता भएका छन्।

बिहीबार बिहान ८ बजेसम्म चीनतर्फ तीन जनाको मृत्यु पुष्टि भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। दुई जना स्थानीय बासिन्दाको जीवितै उद्धार गरिएको बताइएको छ।

बेपत्ता हुनेमध्ये २६० जना विदेशी नागरिक रहेको घटनास्थलस्थित कमान्ड केन्द्रका अधिकारीले बताएका छन्। प्राकृतिक रूपमा बनेको तालमा पानीको सतह बढ्दै गएकाले ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप विनाशकारी बाढी आउन सक्ने जोखिम बढेको छ। त्यसैले सम्बन्धित निकायले सम्भावित आकस्मिक बाढीलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि आवश्यक तयारी तीव्र बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्