बाढीको कहरबीच उद्धार अभियान : ५०० भन्दा बढीको सकुशल उद्धार



नुवाकोट,भदौ १२ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम अत्यन्त प्रभावकारी रूपमा भइरहेको बताउनुभएको छ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि बिहीबार नुवाकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले विदेशी नागरिकसहित ५०० भन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

अहिलेसम्म करिब ६५ जना विदेशी नागरिकको उद्धार गरिएको बताउँदै उहाँले केही काठमाडौँ फर्किसकेको र केही फर्किने क्रममा रहेको जानकारी दिनुभयो। उद्धार गरिएका झण्डै २०० जनालाई परिवारजनले जिम्मा लिएर लगिसकेको उहाँले बताउनुभयो। बाँकी बाढीपीडितलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्ने तथा परिवार र आफन्तको जिम्मा लगाउने काम भइरहेको मन्त्री तिमिल्सिनाको भनाइ छ।

नेपाल सरकारले देशले व्यहोर्नुपरेको अप्रत्याशित आपतकाललाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उहाँले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म विपद्को असर परेको बताउनुभयो।

उहाँले भन्नुभयो, “बस्ती बगेका छन्, धेरै व्यक्तिहरू हराइरहनुभएको छ। जुन स्तरको समस्या छ, त्यही स्तरमा ध्यान दिएर जीवन उद्धारमा बढी जोड दिएका छौँ।”

प्रधानमन्त्रीले पनि उद्धार तथा राहत कार्यप्रति विशेष चासो राखेर प्रभावित क्षेत्रको अवलोकन गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विपद्का बेला राज्यले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको बताउनुभयो।

मृत मानिस तथा जनावरका शवबाट कुनै महामारी नफैलियोस् भन्ने विषयमा समेत विशेष सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो। घरपरिवार गुमाएका नागरिकको सुरक्षित बसोबासको व्यवस्था गर्नु र उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ। “राष्ट्रले सम्पूर्ण स्रोत परिचालन गरी संयमतापूर्वक काम गरिरहेको छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्