भोटेकोशी बाढीको आर्थिक क्षति अध्ययन गर्ने राष्ट्रिय योजना आयोग



काठमाडौं,भदौ १२ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको आर्थिक क्षति र त्यसले कुल गार्हस्थ उत्पादनमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ।

आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरेको उपाध्यक्ष डा. गुणाकर भट्टले जानकारी दिनुभयो।

बाढीबाट घर, सडक, सरकारी तथा निजी भवन, विद्यालय, होटल, पसल, सवारीसाधन र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका १० र निर्माणाधीन पाँच गरी १५ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।

आयोगको अध्ययनले पुनर्निर्माण, प्रभावितलाई राहत तथा आर्थिक प्याकेज निर्माणका लागि सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्