भोटेकोशी बाढीले नुवाकोटमा लागेको अँध्यारो हटाउन विद्युत् प्राधिकरणको प्रयास
नुवाकोट,भदौ १२ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताले विद्युत् सेवा नियमित राख्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनुभएको छ।
कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राखेको उहाँले जानकारी दिनुभयो। केही कर्मचारी तथा सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत कर्मचारीहरू निरन्तर विद्युत् सेवा सञ्चालन र पुनःस्थापनामा खटिएका छन्।
बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको थियो।उहाँका अनुसार बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको छ भने रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको छ।
यसैबीच, भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा उज्यालो पुनः फर्काउने प्रयासस्वरूप सिन्धुपाल्चोक हुँदै आएको विद्युत् लाइनलाई फलाटे–फ्युज सेवासम्म सञ्चालनमा ल्याउन सफलता मिलेको सम्बन्धित कर्मचारीहरुले जनाएका छन् ।
तर, हाल विद्युत् आपूर्तिको भोल्टेज कम रहेकाले क्षेत्र अनुसार पालैपालो विद्युत् सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ। समस्या व्यवस्थापनका लागि एक क्षेत्रमा विद्युत् काटेर अर्को क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था अपनाइने भएकाले सर्वसाधारणलाई जानकारी गराइएको छ।
प्राधिकरणले वैकल्पिक स्रोतमार्फत नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ। चपलीबाट दुई, इन्द्रावतीबाट एक, तादी जलविद्युत् केन्द्रबाट दुई तथा बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ।
मन्त्री श्रेष्ठले उद्धार तथा विद्युत् पुनःस्थापनामा खटिएका प्राधिकरणका कर्मचारी, प्राविधिक टोली र व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारीलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ।

