आज जनैपूर्णिमा, देशभर रक्षाबन्धनको रौनक
काठमाडौं,भदौ १२ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ।
यस अवसरमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत अर्थात् जनै तथा रक्षासूत्र धारण गर्ने परम्परा रहेको छ। तागाधारी समुदायले आजका दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन्।
जनैपूर्णिमाकै अवसरमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने परम्पराले पनि यस पर्वलाई विशेष बनाएको छ।
तागाधारी समुदायले आफ्ना पुर्खा, ऋषि तथा महर्षिको स्मरण गर्दै जल तथा तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणीका रूपमा समेत मनाउने गरिन्छ।
यसैगरी, विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइने परम्परागत परिकार क्वाँटी खाने चलनले पनि जनैपूर्णिमाको विशेष महत्त्व बढाएको छ।

