प्राकृतिक विपद्का कारण सबै तहका परीक्षा स्थगित गर्न निर्देशन



काठमाडौं,भदौ १२ — शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षा तत्कालका लागि स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सबै परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको हो। विभिन्न विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालय ऐनले दिएको विशेष अधिकार प्रयोग गरी यस्तो निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गरिनेछन्। साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

निर्देशनअनुसार स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गरिनेछ। अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम पनि स्थगित गर्न भनिएको छ।

त्यस्तै, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न निर्देशन दिइएको छ। आवश्यकताअनुसार प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न र विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम गर्न आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ।

वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी यी व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न आवश्यक निर्णय लिन मन्त्री पोखरेलले सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री पोखरेलले विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिनसमेत आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्