बाढीपछि रसुवा जोड्ने वैकल्पिक सडक खुल्यो, टोखा–छहरे, आँप्रह–नर्जा, लच्याङ–सरमथली हुँदै धुन्चे
काठमाडौं,भदौ १२ । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पासाङ ल्हामु राजमार्ग क्षतविक्षत बनाएपछि रसुवालाई पुनः राष्ट्रिय सडक सञ्जालसँग जोड्न वैकल्पिक सडक मार्ग सञ्चालनमा ल्याइएको छ।
बाढीले रसुवा सडक खण्ड तहसनहस पारेपछि आवतजावतका लागि काठमाडौं–टोखा–छहरे, गड्खार पुल–आप्र–नर्जा, लच्याङ–सरमथली–पाटीखर्क र बोगटीटार–कालिकास्थान–धुन्चे मार्ग खुलाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। यी वैकल्पिक मार्गबाट चारचक्के साना सवारीसाधन सञ्चालन गर्न सकिनेछ। सडक सञ्चालनमा आएपछि राहत वितरण, उद्धार कार्य तथा अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको हो।बाढीले रसुवाभित्र मात्रै १३ वटा पुल तथा पासाङ ल्हामु राजमार्गको करिब ४० किलोमिटर सडक खण्ड बगाएपछि जिल्ला राष्ट्रिय सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो।
यसैबीच, पृथ्वी राजमार्गको गल्छी–बैरेनी खण्ड शुक्रबार बेलुकीदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीपछि राजमार्गमा थुप्रिएको लेदो हटाउने काम सम्पन्न भएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो।
मलेखु क्षेत्रका पोखरी, बाँगे र गलौंदीमा करिब सात सय मिटर क्षेत्रमा थुप्रिएको लेदो हटाउने काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ। उक्त काम सम्पन्न भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

