प्रधानमन्त्री शाहको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
काठमाडौं,भदौ १२ । प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन्।
रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले कठिन घडीमा प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ भने नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत निरन्तर हवाई उद्धार भइरहेको छ।
सरकारले रसुवा, भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाइरहेको जनाएको छ। सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकतामा राख्दै विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।
बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको जनाउँदै प्रधानमन्त्री शाहले हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार वा पहिचान भएको जानकारी दिएका छन्।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचारलाई भ्रामक बताउँदै उनले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार र राहतका लागि आवश्यक सहयोग तथा सामग्रीबारे निरन्तर समन्वय भइरहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको र दुई लाखभन्दा बढी सन्देशमार्फत पूर्वसूचना दिइएको बताएका छन्। सडक सम्पर्क पुनःस्थापनाका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको जनाउँदै उनले रसुवालाई काठमाडौं–टोखा–छहरे हुँदै विभिन्न वैकल्पिक सडकमार्गमार्फत पुनः सडक सञ्जालसँग जोडिएको बताएका छन्। क्षतिग्रस्त पुलमा बाइपास निर्माण तथा नयाँ बेली पुल उपलब्ध गराउन भारत र चीनसँग पहल भइरहेको पनि उनले उल्लेख गरेका छन्।
नुवाकोटमा खानेपानी, इन्धन, सरसफाइ, विद्युत् र दूरसञ्चार सेवा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको सरकारको भनाइ छ। प्रभावित १९८ दूरसञ्चार टावरमध्ये १४५ वटा पुनः सञ्चालनमा आएको तथा नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको प्रधानमन्त्रीले बताएका छन्।
विपद्प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत तथा उद्धारका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको पनि उनले जानकारी दिएका छन्। प्रधानमन्त्रीले प्रभावित नागरिक, परिवार तथा व्यवसायका लागि राहत र पुनःस्थापना प्याकेज तयार भइरहेको बताएका छन ।
यसैबीच प्रधानमन्त्री शाहले ‘रोड टु युएफसी’मा जित हासिल गर्दै फाइनलमा पुगेका नेपाली मिश्रित मार्सल आर्ट खेलाडी रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै उनले ढाँटप्रति सरकारका तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।
‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ।’

