बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने
काठमाडौं,भदौ १२ । एसियाली विकास बैङ्क (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६ करोड) अनुदान स्वीकृत गरेको छ ।
एडिबीले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ ।
एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला सहयोग पर्खन नसक्ने भन्दै प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताउनुभएको छ ।
एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।
त्यसैगरी, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापना योजना र सम्भावित पुनःनिर्माणका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको थप सहयोगको प्रक्रिया अघि बढेको पनि एडिबीले जनाएको छ ।

