तत्काल त्रिशूली वारिपारि पहुँच कायम गर्न स्थानीयले गरे तुइनको प्रस्ताव
नुवाकोट,भदौ १३ — भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यसँगै त्रिशूली नदीको वारिपारि पहुँच कायम गर्न तत्काल तुइन सञ्चालन गर्नुपर्ने स्थानीयले प्रस्ताव अघि सारेका छन् ।
भदौ १० गतेदेखि निरन्तर उठाउँदै आएको विषयलाई पुनः जोड दिँदै स्थानीयस्तरबाट ढुङ्गेको गुम्बादेखि कोलोनी इन्टेक डिलसम्म तुइन जडान गर्न सकिने बताइएको छ। आवश्यक स्रोत, साधन र जनशक्ति स्थानीय तथा सम्बन्धित निकायसँग उपलब्ध रहेकाले तत्काल काम अघि बढाउन सकिने प्रस्तावमा उल्लेख छ।
तुइन सञ्चालनका लागि करिब ३१६ मिटर तार आवश्यक पर्ने र उक्त तार विद्युत् प्राधिकरणसँग उपलब्ध हुन सक्ने स्थानीयले बताएका छन्। सामान ओसारपसारका लागि आवश्यक बकेट पनि बट्टार बजारका वर्कसपले करिब आधा घण्टामै तयार गर्न सक्ने जनाइएको छ।
कामका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीय युवा लगायतबाट करिब १० देखि २० जना जनशक्ति परिचालन गर्न सकिने प्रस्तावमा उल्लेख छ। स्थानीय रूपमा उपलब्ध खम्बा प्रयोग गर्न सकिने तथा पुलिङ भाइस, डोरी र अन्य उपकरणको सहायताले तार नदीपारि पुर्याउन सकिने उल्लेख छ।
ड्रोन वा चङ्गाको प्रयोग गरी सुरुमा धागो, त्यसपछि सानो डोरी हुँदै क्रमशः मोटो डोरी र अन्ततः तार पठाउन सकिने विकल्पसमेत प्रस्तावमा उल्लेख छ ।
तुइन सञ्चालनमा आएपछि एक पटकमा कम्तीमा १०० केजीसम्म अत्यावश्यक औषधि तथा राहत सामग्री करिब तीन मिनेटभित्र वारिपारि पुर्याउन सकिने अपेक्षा गरिएको छ।
यद्यपि, आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि यस कार्यको नेतृत्व लिने स्पष्ट जिम्मेवार निकाय नहुनु मुख्य चुनौती रहेको प्रस्तावकर्ताहरूले बताएका छन्।

