भोटेकोशी बाढीपछि व्यापक उद्धार, करिब सात सयको हवाई उद्धार
रसुवा,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि खोज, उद्धार, उपचार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। रसुवा र नुवाकोटमा चार हजार दुई सयभन्दा बढी सैनिक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी करिब १५ हजार चार सय सुरक्षाकर्मी खटिएका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री र अस्थायी आवासका लागि आवश्यक सामग्री पठाइएको छ। घाइतेको उपचारका लागि त्रिशूली, धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ भने हालसम्म करिब एक हजार जनाले स्वास्थ्य सेवा लिएका छन्।
बाढीले रसुवागढीदेखि त्रिशूली–बट्टारसम्मको सडकखण्डमा ठूलो क्षति पुर्याउँदा स्थलमार्ग अवरुद्ध भएको छ। नेपाली सेनाले शुक्रबार साँझसम्म ११९ विदेशी नागरिकसहित करिब सात सय जनाको हवाई उद्धार गरेको जनाएको छ।
भीषण बाढीबाट ज्यान जोगाएका स्थानीयले केही क्षणमै बस्ती, सडक र संरचना बगाएको भयावह अनुभव सुनाएका छन। स्याप्रुबेँसी, टिमुरे, रसुवागढीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने धेरै नागरिक अझै बेपत्ता छन्। खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको सुरक्षा निकायले जनाएको छ।

