पूर्वसतर्कताले जोगियो सयौँको ज्यान
विदुर (नुवाकोट), भदौ १३ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोट र रसुवामा ठूलो क्षति पुर्याए पनि समयमै गरिएको पूर्वसतर्कता र बस्ती खाली गराइएकाले नुवाकोट तथा धादिङमा सयौँ नागरिकको ज्यान जोगिएको छ।
बाढी आउनुअघि गरिएको माइकिङ र सुरक्षा संयन्त्रको सक्रियताले त्रिशूली, ढुङ्गेबजार, सिमचौर, देवीघाटलगायत क्षेत्रमा बस्ती खाली गराइएको थियो। नुवाकोटको विदुर नगरपालिकाका छ वडा प्रभावित भएका छन् भने करिब तीन सय व्यक्ति बेपत्ता रहेको जनाइएको छ।
रसुवामा भने बाढीको सूचना र बाढी एकैसाथ आइपुग्दा स्याफ्रुबेँसी, धुन्चे र टिमुरे क्षेत्रमा ठूलो मानवीय क्षति भएको अनुमान छ।धादिङमा भने समयमै पूर्वसूचना पाएर करिब १५० घरधुरी खाली गराइएकाले हालसम्म मानवीय क्षति दर्ता भएको छैन।
विज्ञहरूले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउँदै नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबाससम्बन्धी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

