लाङटाङ लिरुङबाट चोइटिएको हिउँले निम्त्यायो विनाशकारी हिमबाढी
काठमाडौँ, भदौ १३। लाङटाङ लिरुङ हिमालको उत्तरपट्टिको चुचुरोबाट ठूलो परिमाणमा हिउँ र चट्टान चोइटिएर झर्दा उच्च वेगको हिमबाढी सिर्जना भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। भूउपग्रह तथा ड्रोन तस्बिरको विश्लेषणपछि हिमबाढी ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको निष्कर्ष निकालिएको हो।
बाढी उद्गमस्थलमा बनेको ताल फुट्न सक्ने जोखिम अझै कायम रहेकाले त्रिशूली नदी तटीय क्षेत्रदेखि चितवनको मुग्लिङसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चीनको नेपालस्थित दूतावासले पनि नदीको जलस्तर निरन्तर निगरानी गर्न र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ।
यसैबीच, भोटेकोशीको बाढीले रसुवा, स्याफ्रुबेँसी, लाङटाङ, बेत्रावती र मलेखुका पाँच जलमापन केन्द्र बगाउँदा नदीको वैज्ञानिक अनुगमन प्रभावित भएको छ।
हिम अध्येताहरूले यसलाई नेपालमा करिब ४५० वर्षपछि आएको सबैभन्दा ठूलो हिमबाढी हुन सक्ने बताएका छन्।

