बाढी प्रभावित क्षेत्रमा पर्यटकको खोजी तथा उद्धार तीव्र, ६२२ अझै सम्पर्कविहीन
काठमाडौँ, भदौ १३ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पर्यटक र तीर्थयात्रीको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। शुक्रबार मात्रै १२१ पर्यटकको उद्धार गरिएको छ भने यसअघि ३३ जना विदेशी पर्यटकलाई उद्धार गरिएको थियो।
नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकमध्ये शुक्रबारसम्म ६२२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विपत् व्यवस्थापन प्राधिकरण, नेपाली सेना, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायी समन्वय गरेर खटिएका छन्।
सम्पर्कविहीनमध्ये भारतीय, नेपाली, अमेरिकी, युक्रेनी, मलेसियाली, अस्ट्रेलियाली र बेलायती नागरिकको सङ्ख्या बढी रहेको बोर्डले जनाएको छ। उद्धार कार्यलाई निरन्तर तीव्र बनाइएको छ।

