संकटमा परेका तीर्थयात्रीका लागि कोटबारी होटेल नुवाकोटको निःशुल्क गाँस र बास
नुवाकोट, भदौ १३ । भोटेकोशीमा आएको विनाशकारी बाढीले यात्रा अवरुद्ध भएपछि समस्यामा परेका गोसाइँकुण्डका तीर्थयात्रीका लागि नुवाकोटको दुप्चेश्वर धाम नजिकै रहेको कोटबारी होटेलले निःशुल्क खाना र बस्ने व्यवस्था गरेको छ।
गोसाइँकुण्डको यात्रा पूरा गरी दुप्चेश्वर हुँदै काठमाडौँ फर्कने क्रममा अलपत्र परेका तीर्थयात्रीलाई शुक्रबारदेखि होटेलले निःशुल्क गाँस र बासको व्यवस्था गरेको हो। संकटका बेला यात्रु समस्यामा परेको खबर पाएपछि होटेलले आफ्नो क्षमता अनुसार सहयोग सुरु गरेको सञ्चालक सुशीलकुमार खड्काले जानकारी दिनुभयो।
दुप्चेश्वर गाउँपालिका–७, दुप्चेश्वरमा रहेको होटेलमा रहेका दुईवटा हललाई तीर्थयात्रीको बसोबासका लागि प्रयोग गरिएको छ।होटेलका व्यवस्थापक गौरव खड्काका अनुसार दुवै हलमा करिब ५० जनासम्मलाई बस्ने व्यवस्था गर्न सकिन्छ।
सिसिपु र घ्याङफेदीसम्म सवारीसाधन सञ्चालन हुने र त्यहाँबाट यात्रु काठमाडौँ जाने गरे पनि बाढीका कारण रसुवा हुँदै आवागमनमा समस्या भएपछि कतिपय तीर्थयात्री अलपत्र परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा राख्दै खाना र बासको व्यवस्था गरिएको हो।
करिब सात रोपनी क्षेत्रफलमा फैलिएको कोटबारी होटेल यस क्षेत्रका सुविधासम्पन्न होटेलमध्ये एकका रूपमा परिचित छ। प्राकृतिक विपत्तिका कारण यात्रु समस्यामा परेका बेला होटेलले गरेको मानवीय सहयोगले तीर्थयात्रीलाई राहत पुगेको छ।

