नुवाकोटमा विपद् संकट : कर्मचारीका सबै विदा रद्द, कार्यक्षेत्रमा अनिवार्य उपस्थित हुन निर्देशन
नुवाकोट,भदौ १३ — त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएपछि नुवाकोट जिल्लाका सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिइएको छ।
अत्यावश्यक सूचना जारी गर्दै विपद्को यस गम्भीर अवस्थामा जिल्लाका सबै सरकारी कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई कार्यक्षेत्रमा उपस्थित हुन आग्रह गरिएको हो।
सूचनाअनुसार किरिया विदा, बिरामी विदा तथा सुत्केरी वा स्याहार विदामा रहेका कर्मचारीबाहेक अन्य कुनै पनि कर्मचारी विदामा बस्न पाउने छैनन्। साथै कार्यालय प्रमुखलाई समेत कर्मचारीको विदा स्वीकृत नगर्न निर्देशन दिइएको छ।
यसअघि स्वीकृत भएका अन्य सबै प्रकारका विदासमेत उक्त सूचनामार्फत रद्द गरिएको जनाइएको छ। विपद् व्यवस्थापन, राहत, उद्धार तथा प्रभावित क्षेत्रमा आवश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कर्मचारीलाई आ–आफ्नो कार्यक्षेत्रमा अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ।
यही भदौ १० गते त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो।

