त्रिशूली ३ ‘ए’ जलविद्युत्को सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन
रसुवा, भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि निरन्तर प्रयास जारी राखेको छ।प्रतिकूल मौसम तथा निरन्तर सुरुङभित्र पसिरहेको लेदो र भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र बनाइएको छ।
टनेलभित्र मानिसहरू फसेको जानकारी प्राप्त हुनासाथ सरकारले उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा निकायका टोली परिचालन गरेको थियो। सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई तीव्रता दिन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिरहेको छ।
यसैबिच नेपालको उद्धार प्रयासमा सहयोग पुर्याउन भारतीय उद्धार टोली पनि त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी आवश्यकता अनुसार थप उद्धार तथा राहत कार्य अघि बढाउने तयारी गरेको जनाइएको छ।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारका लागि सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूले निरन्तर प्रयास जारी राखेका छन्।

