भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै सम्पर्कविहीन
काठमाडौँ, भदौ १३ । रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार हालसम्म ६१६ जनाको शव फेला परेको छ। मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाइएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सरोकारवाला निकाय र स्थानीयको समन्वयमा उद्धार तथा खोजी कार्य गरिरहेको जनाएको छ। बाढीका कारण अवरुद्ध भएका विभिन्न स्थानका सडक तथा बाटो खुलाउने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

