बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारमा काठमाडौँ महानगरको निःशुल्क यातायात सेवा



काठमाडौँ, भदौ १३ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरी काठमाडौँ ल्याउन निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।

शुक्रबारदेखि एउटा सवारी साधनमार्फत सुरु गरिएको सेवाको पहिलो दिन दुई जना बालबालिका, नौ जना महिला र आठ जना पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ।

आजदेखि भने दुईवटा सवारी साधनमार्फत सेवा सञ्चालन गरिएको छ। तीमध्ये एउटा यसअघि रसुवाबाट काठमाडौँसम्म यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको सवारी साधन रहेको छ ।

र्को सवारी साधन काठमाडौँ महानगरपालिकाको अनुरोधमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी रहेको छ । उक्त सवारी साधनमा १० जना यात्रु अटाउन सक्छन्।

निःशुल्क सञ्चालन गरिएका सवारी साधन सहज रूपमा चिन्नका लागि अगाडि र पछाडि व्यानर राखिएको छ। यात्रुको सुरक्षा तथा व्यवस्थापनका लागि दुवै सवारी साधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ आवश्यकताका आधारमा थप सवारी साधन सञ्चालन गरी सेवा विस्तार गर्ने महानगरपालिकाको योजना रहेको छ।

यसैबीच, विपद् व्यवस्थापनमा खटिएका जनशक्तिलाई प्रोत्साहन गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभागृहमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्