त्रिशूली–३ को सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
रसुवा,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरमार्फत आज दिउँसोसम्म ४३ जना विदेशी नागरिकसहित २०८ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा रहेका ३८ जना चिनियाँ र पाँच जना भारतीय नागरिकसहित २०८ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको हो।सुरुङमा रहेका अन्य प्रभावितको उद्धारका लागि संयुक्त टोलीले निरन्तर प्रयास गरिरहेको जनाएको छ। उद्धार टोलीले ड्रिलिङ मेसिनलगायत आवश्यक सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको छ।
यसैबीच, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा नेपाली सेनाका सात हजारभन्दा बढी फौज खटिएका छन्। सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै घाइते तथा बेपत्ताको खोजी, उद्धार, आपत्कालीन उपचार र शव व्यवस्थापनको काम तीव्र रूपमा जारी रहेको जनाएको छ।

