भोटेकोशी बाढीपछि ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला : प्रधानमन्त्री बालेन शाह
काठमाडौं,भदौ १३ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकार उद्धार, खोजी, राहत तथा पुनःस्थापनाको काममा पूर्ण क्षमताका साथ जुटिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रबाट साँझ साढे पाँच बजेसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको बताएका छन्।
उनका अनुसार विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने अन्य क्षेत्रमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। उद्धार अभियानमा भारतीय तथा चिनियाँ प्राविधिक विज्ञहरू पनि नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।
प्रभावित क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरिएको र हालसम्म २३६ उडान सम्पन्न भएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ।
जटिल अवस्थाका घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको तथा अन्य घाइतेका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा नेपाली सेनाको ब्यारेकमा चलायमान अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिएका छन्। धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा अन्य प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य टोली परिचालन गरिएको छ भने घाइते र परिवारलाई मनोपरामर्श सेवा पनि दिइँदैछ।
रसुवामा ३ र नुवाकोटमा १५ राहत शिविर
बाढी प्रभावित नागरिकको व्यवस्थापनका लागि रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको पनि उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार राहत सामग्री संकलन तथा वितरणका लागि सरकारी तथा विभिन्न स्वयंसेवी संस्थाहरू परिचालित छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ।
प्रधानमन्त्री राहत कोषमा ५ अर्बभन्दा बढी
प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा शनिबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्। साथै दुई बैंकमा १८ लाख ८ हजार १८९ अमेरिकी डलर पनि जम्मा भएको उनले बताएका छन्।
उनले विपद्का नाममा हुने सम्भावित आर्थिक ठगीबाट जोगिन सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक खातामा मात्र सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय समुदायबाट सहयोग
प्रभावित क्षेत्रको व्यवस्थापन र पुनःस्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय निकाय तथा मित्रराष्ट्रबाट आर्थिक, प्राविधिक र मानवीय सहयोगको प्रतिबद्धता प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ। विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अस्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
भारतबाट तीन चरणमा ५७ दशमलव ५ टन मानवीय सहायता र अत्यावश्यक औषधि प्राप्त भएको उनले बताएका छन्। चीन र अमेरिकाबाट पनि सहायता आउने क्रममा रहेको जनाइएको छ।
सञ्चार र सडक सेवा पुनःस्थापना
बाढीका कारण अवरुद्ध भएका नेपाल टेलिकम र एनसेलका धेरै सञ्चार टावर पुनः सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार हाल नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर मर्मतको काम भइरहेको छ।
यसैबीच, काठमाडौं–टोखा–छहरे हुँदै विभिन्न वैकल्पिक मार्ग प्रयोग गरी रसुवाको धुन्चेसम्म साना चारपांग्रे सवारी सञ्चालन हुने गरी सडक मर्मत गरिएको छ। यससँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्।
पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तथा वैकल्पिक सडक सञ्चालन भएपछि धादिङबेसी पनि पुनः सडक सञ्जालसँग जोडिएको जानकारी दिइएको छ।
हालसम्म ६७५ शव फेला
प्रधानमन्त्री शाहका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासीका विभिन्न स्थानबाट हालसम्म ६७५ शव फेला परेका छन्।
फेला परेका शवलाई पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम व्यवस्थापन भइरहेको उनले बताएका छन्। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाइने र पहिचान हुन नसकेका शवको आवश्यक पहिचानसम्बन्धी प्रमाण सुरक्षित गरी व्यवस्थापन गरिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था तथा नागरिकप्रति आभार व्यक्त गरेका छन्।
उनले पीडितको जीवन रक्षा र मनोबल बढाउने गरी सत्यतथ्य सूचना प्रवाह गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि आग्रह गरेका छन्।
‘
नेपाल सरकार प्रभावित नागरिकको साथमा छ र उद्धार तथा पुनःस्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहनेछ,’ प्रधानमन्त्री शाहले बताएका छन्।

