नुवाकोट र रसुवामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा सतर्कता अपनाउन आग्रह
काठमाडौं,भदौ १४ । आज भदौ १४ गते देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्नेछ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ। यस्तै, नुवाकोट र रसुवा जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
नदी तथा खोलाको आसपास बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

