भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार
काठमाडौं,भदौ १४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ।
प्रहरीका अनुसार विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको छ। रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ।
सुरक्षाकर्मीले रसुवाबाट ६७६, नुवाकोटबाट दुई हजार २० र धादिङबाट तीन जनाको उद्धार गरेका छन्। साथै, काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराइरहेका १६० जना उपचारपछि घर फर्किएका छन्।
यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको सुरक्षा निकायहरूले जनाएका छन्।

