रसुवा बाढीपीडितका लागि चीनबाट दुई विशाल मालवाहक विमानमा राहत र उद्धार सामग्री



काठमाडौँ,भदौ १४ — रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले आपत्कालीन उद्धार तथा राहत सामग्री पठाएको छ।

चीनको वायुसेनाका दुई वटा युन–२० ठूला मालवाहक विमानमार्फत उद्धार सामग्री, उपकरण तथा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ नेपाल आइपुगेका हुन्।

उद्धार सामग्री र विशेषज्ञ टोली आइतबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, प्रतिनिधिसभा सदस्य धर्मा केसीलगायतले राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै चिनियाँ उद्धार विशेषज्ञ टोलीलाई स्वागत गरेका थिए।

दुवै मालवाहक विमान आइतबार चीनको छेन्दुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्। करिब तीन घण्टाको उडानपछि विमान काठमाडौँ आइपुगेको जनाइएको छ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत पाल, कम्बल, सुत्ने झोला, प्याकेटबन्द सुख्खा खाद्य सामग्री, प्राथमिक उपचारका सामग्रीलगायत १३ हजार २०० थान आपत्कालीन उद्धार तथा राहत सामग्री नेपाल पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोलीसमेत पठाएको हो।

प्रतिक्रिया दिनुहोस्