विपद्पीडितका लागि बागमती प्रदेश सरकारको राहत घोषणा, चार जिल्लामा साढे तीन करोड तत्काल पठाइने
हेटौँडा,भदौ १४ — बागमती प्रदेश सरकारले विपद्प्रभावित जिल्लामा तत्काल राहत तथा उद्धारका लागि साढे तीन करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
प्रदेश सरकारको निर्णयअनुसार स्थानीय तहमार्फत प्रभावित क्षेत्रमा राहतका लागि रसुवालाई एक करोड रुपैयाँ, नुवाकोटलाई एक करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ र चितवनलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ।
त्यस्तै, बागमती प्रदेशभित्र विपद्मा ज्यान गुमाएका मृतकका परिवारलाई प्रति मृतक २५ हजार रुपैयाँका दरले स्थानीय सरकारमार्फत उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
प्रदेश सरकारले पहिलो चरणमा प्रभावित क्षेत्रमा तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउने र दोस्रो चरणमा पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ।

