बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अर्को व्यवस्था नभएसम्म जारी



काठमाडौं,भदौ १४ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा तथा ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। उद्धार तथा राहत वितरण कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयसम्म निरन्तरता दिने निर्णय गरेको हो।

कम्पनीले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यकताअनुसार उपलब्ध निःशुल्क सेवा उपभोग गर्न आग्रह गरेको छ। बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ।

अधिकांश प्रभावित संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि सुचारु गर्ने काममा प्राविधिकहरू निरन्तर खटिरहेको बताइएको छ।

विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवामार्फत प्रभावित सेवाग्राहीले आफ्ना आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्