त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास जारी
रसुवा,भदौ १४ । रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाफौजले निरन्तर प्रयास जारी राखेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञहरूले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि भदौ १२ गतेदेखि त्यस क्षेत्रमा निरन्तर प्रयास भइरहेको छ।
गएराति उक्त क्षेत्रमा वर्षा हुनुका साथै भोटेकोशी नदीमा बाढीको बहाव बढेपछि उद्धार कार्य केही समय रोकिएको थियो। बहाव कम भएपछि पुनः उद्धार कार्य सुरु गरिएको नेपाली सेनाले जनाएको छ।
उद्धार अभियानमा विशेषज्ञसहित ९३ जना संलग्न छन्। प्रभावित जिल्लाहरूमा करिब आठ हजार ४०० भन्दा बढी सुरक्षाकर्मी तथा फौज समन्वयात्मक रूपमा परिचालन भई उद्धार तथा राहत कार्यमा खटिरहेका छन्।
यसैबीच, नेपाली सेनाले आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको जनाएको छ।

