बाढीपीडितको भोक मेटाउन नुवाकोटमा दुर्गेश थापाको मानवीय अभियान



नुवाकोट,भदौ १४ । बाढीले घरबार र दैनिकी तहसनहस बनाएका मानिसहरू यतिबेला राहतको प्रतीक्षामा छन् । यस्तो कठिन घडीमा चर्चित कलाकार दुर्गेश र उनको टोली भने नुवाकोटको विदुर नगरपालिका–८, कोलनीमा बाढी प्रभावितको भोक मेटाउने अभियानमा जुटिरहेका छन् ।

दुई दिनदेखि कलाकारहरूको टोली स्थानीयवासीसँग हातेमालो गर्दै आफैँ खाना पकाउने र प्रभावित परिवारलाई खुवाउने काममा निरन्तर सक्रिय छ । विपत्तिले पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीको दुःखमा सकेको साथ दिन यो अभियान सुरु गरिएको दुर्गेशले बताएका छन् ।

उनका अनुसार ठूलो आर्थिक सहयोग गर्न नसके पनि भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठूलो सेवा हो । यही सोचका साथ टोलीले पीडित परिवारसम्म पुगेर खाना खुवाइरहेको बताए ।

दुर्गेशले विपत्ति र दुःखको समयमा एक–अर्काको साथ बन्नु नै साँचो मानवता भएको बताएका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनासहित गरिएको सानो प्रयासले कसैको अनुहारमा केही क्षण भए पनि मुस्कान ल्याउन सके त्यही नै सबैभन्दा ठूलो खुसी हुने उनको भनाइ छ ।

बाढीको पीडाबीच कोलनीमा कलाकार र स्थानीयवासी मिलेर चलाएको यो मानवीय अभियानले प्रभावित परिवारलाई केवल खाना मात्र होइन, कठिन समयमा आफूहरू एक्ला छैनौँ भन्ने भरोसा पनि दिलाइरहेको छ ।

दुर्गेशले सबैलाई सुरक्षित रहन आग्रह गर्दै विपत्तिको यस कठिन समयमा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्