बाढीको पीडालाई राष्ट्रिय शोकका रूपमा लिनुपर्छ : ओली
काठमाडौं,भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ।
बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार गरिएको प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले प्रभावित क्षेत्रमा पुनःनिर्माणका कामलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।एमाले महासचिव शङ्कर पोखरेलसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन आज अध्यक्ष ओलीलाई बुझाएको हो।
विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहका तीनै तहका सरकारको सामर्थ्य प्रभावकारी रूपमा परिचालन हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले विपत्तिका नाममा राजनीतिक लाभ लिन वा श्रेय लिने होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो।
महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरिएको उल्लेख गर्दै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरी पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
अध्यक्ष ओलीले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट सञ्चालन हुने राहत तथा पुनःस्थापनाका काममा प्रभावकारी समन्वय गर्नसमेत सुझाव दिनुभएको छ।

