भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनामा उद्धार युद्ध : सुरुङभित्र अझै सयौँ फसेको अनुमान



काठमाडौँ, भदौ १५ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि चौतर्फी प्रयास भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विदेशी विशेषज्ञ टोली अत्याधुनिक उपकरणसहित उद्धार कार्यमा जुटिरहेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण उक्त क्षेत्रमा ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत आज दिउँसोसम्म २७९ जनाको उद्धार गरिएको छ । यद्यपि विभिन्न आयोजनाका सुरुङमा अझै मानिस फसेको सूचना आइरहेको छ ।

रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी गिरिराज अधिकारीका अनुसार सुरुङ आसपासबाट दुई दिन लगाएर २५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । तर अहिले पनि करिब ३०० जना सुरुङभित्रै फसेको अनुमान गरिएको छ ।उहाँका अनुसार करिब १० किलोमिटर लामो सुरुङमा तीन वटा सहायक सुरुङ रहेका छन् र त्यहाँ काम गरिरहेका चिनियाँ नागरिकसहितको टोली फसेको आशंका छ।

“करिब १० किलोमिटर लामो सुरुङमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ,” उहाँले भन्नुभयो ।

उद्धारका लागि आयोजना क्षेत्रमा चिनियाँ टोली परिचालन गरिएको छ भने कोरियाका आठ सदस्यीय टोलीले हवाई अवलोकनसमेत गरिसकेको छ । एउटा चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरिसकेको नेपाली सेनाले जनाएको छ ।

यसैगरी नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन् । नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक मदन तिम्सिनाका अनुसार आयोजनाको सुरुङमा उद्धार कार्य सुरु भइसकेको छ ।

सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इञ्जिनियर टोलीले आवश्यक परे ब्लास्टिङ गर्नेसम्मको तयारी गरेको छ । उद्धार स्थलमा नेपाली सेनाका ६६ जना, तालिम प्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना तथा नेपाल प्रहरीका छ जना गरी ९० जनाको संयुक्त टोली परिचालित छ ।

संयुक्त टोलीले आइतबार दिउँसो २ बजे सुरुङको मुख्य भागमा पुगेर दुई गुणा तीन फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ ।

हाल ठूला उपकरणको प्रयोग, आवश्यक परे ब्लास्टिङ तथा बनाइएको प्वाललाई फराकिलो बनाउने काम एकसाथ भइरहेको छ ।

त्यसैगरी नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार पनि जारी छ । भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ । त्यहाँ चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धार कार्यमा सहयोग गरिरहेको बताइएको छ ।

रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धारको प्रयास भइरहेको छ । चिलिमेमा भारतीय विज्ञ टोलीले हवाई अवलोकन गरी पम्प तथा उत्खनन उपकरणको तयारी गरिरहेको छ । चिलिमे आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि नेपाली सेनाको टोली खटिएको छ ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन रहेको आयोजनाका प्रबन्धक तथा इप्पानका सचिव विजय एम भट्टराईले जानकारी दिनुभयो । सम्पर्कविहीनमध्ये दुई जना सुरक्षाकर्मी, १३ जना कर्मचारी र २६ जना कामदार रहेका छन् ।

उहाँका अनुसार आयोजनाको सुरुङ करिब १५० मिटर मात्रै लामो छ । सुरुङभित्र फसेकामध्ये दुई जना भने आफैँ बाहिर निस्किसकेको र बाँकीको उद्धारका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो ।

रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सुरुङमा फसेकाको उद्धारका लागि कोरियाली विशेषज्ञ टोलीले हवाई अवलोकन गरी काम सुरु गरिसकेको छ ।

बाढीका कारण एकै क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएपछि सुरुङभित्र फसेकाको खोजी तथा उद्धार नेपालका लागि ठूलो चुनौती बनेको छ । नेपाली सुरक्षा निकायसँगै चीन, भारत र कोरियाका विशेषज्ञ टोलीको सहयोगमा विभिन्न आयोजनामा एकसाथ उद्धार प्रयास जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्