भोटेकोशी बाढीपीडितको व्यवस्थापनमा सक्रिय प्रदेश सभा सदस्य राधिका तामाङ
नुवाकोट, भदौ १५ । बागमती प्रदेश सभा सदस्य राधिका तामाङ भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारपछिको व्यवस्थापन तथा राहत वितरणको सहजीकरणमा सक्रिय रूपमा खटिनुभएको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिलाई काठमाडौँसम्म पुग्न यातायात व्यवस्थापन गर्नुका साथै नुवाकोटको बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकाका प्रभावित वडा तथा रसुवा जिल्लाका प्रभावित क्षेत्रमा राहत व्यवस्थापनको सहजीकरण भइरहेको उहाँले बताउनुभयो।
प्रभावित नागरिकका लागि राशन, लत्ताकपडा तथा आवश्यक राहत सामग्रीको व्यवस्थापनमा समन्वय भइरहेको छ। साथै विदुर नगरपालिकाभित्र त्रिशूली नदीवारि स्थापना गरिएका अस्थायी होल्डिङ सेन्टरको व्यवस्थापनलाई चुस्त बनाउन पनि सहजीकरण भइरहेको जनाइएको छ।
यसैबीच, त्रिशूली नदी वारपार गर्न सहज बनाउने उद्देश्यले विदुर नगरपालिका–१ स्थित गुम्बा, इन्द्रेणीघाट र देवीघाट क्षेत्रमा तुइन सञ्चालनको तयारी गरिएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको प्रदेश सभा सदस्य तामाङले जानकारी दिनुभयो।
यसैगरी बाढीका कारण प्रभावित भएको काठमाडौँ–रसुवा सडक सम्पर्कलाई सहज बनाउन वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
छहरे, चौघडा, तादी–६ बाहुनबेंसी, जिरोकिलो, नर्जा, लच्याङ, सरमथली र पाटीस्वार हुँदै पार्च्याङ–नौकुण्डा–रसुवा जोड्ने सडक सञ्चालनमा आएको सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवतजावतको व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश सरकार र विभिन्न निकायसँग समन्वय गरी काम भइरहेको जनाइएको छ।

