तातोले झरेको हिउँ चट्टान, जसले निम्त्यायो भोटेकोशीमा हिमबाढी
काठमाडौँ,भदौ १५। लाङटाङ लिरुङ हिमालको टुप्पोबाट लामो समयदेखि खस्कँदै आएको हिउँको ठूलो ढिक्का भदौ १० गते चोइटिएर खस्दा भोटेकोशी हुँदै नेपालमा ठूलो हिमबाढी आएको तथ्य सार्वजनिक भएको छ।
संयुक्त राष्ट्रसङ्घ विश्वविद्यालयका प्रमुख वैज्ञानिक प्राध्यापक डा. मनुचेहर सिरजाईले भूउपग्रह तस्बिरको विश्लेषणबाट हिउँ चट्टान विगत आठ महिनादेखि निरन्तर खस्कँदै आएको र अन्ततः ठूलो हिस्सा खसेको उल्लेख गर्नुभएको छ।
जलवायुविज्ञ उज्ज्वल उपाध्यायले औसतभन्दा बढी तापक्रमका कारण हिउँ पग्लँदै कमजोर भएर अचानक टुक्रिएको हुन सक्ने बताउनुभएको छ।
यस्तै, हिमबाढीको उद्गमस्थलमा बनेका दुई तालमध्ये एउटा ठूलो तालको पानी बाहिरिए पनि माथिल्लो तालमा पानी जम्मा भइरहेकाले फेरि जोखिम उत्पन्न हुन सक्ने बाढीविज्ञ विनोद पराजुलीले चेतावनी दिनुभएको छ।

