रसुवा बाढीप्रति चीनको दुःख, प्रधानमन्त्री राहत कोषमा साढे ३० करोड सहयोग



काठमाडौँ, भदौ १५ । रसुवामा आएको विनाशकारी बाढीबाट नेपालले भोगेको ठूलो जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपाल यो विपत्तिमा एक्लै नरहेको तथा चीन सधैँ नेपाल र नेपाली जनताको साथमा रहेको सन्देश दिनुभएको छ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउनुभएको हो। सोही अवसरमा चीन सरकारको तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि घोषणा गरिएको करिब साढे ३० करोड रुपैयाँ बराबरको २० लाख अमेरिकी डलर सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।

त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको करिब तीन करोड छ लाख रुपैयाँ बराबरको दुई लाख अमेरिकी डलर नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।

राजदूत माओमिङले बाढीपछिको उद्धार तथा राहत कार्यमा चीन सरकारले निरन्तर सहयोग गर्ने बताउनुभयो। चीनले घोषणा गरेका राहत सामग्री नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिँदै उहाँले आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, कम्बल, सुत्ने झोला, स्वास्थ्य सामग्री तथा बिस्कुट काठमाडौँ ल्याइएको बताउनुभयो।

यसैबीच, रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउन पहल भइरहेको जानकारी पनि चिनियाँ पक्षले दिएको छ।

राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोग निरन्तर जारी रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्