भोटेकोशी बाढीपछि फेरि तुइनको भरमा त्रिशूली वारपार



नुवाकोट,भदौ १५ । भोटेकोशी बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि विदुर र त्रिशूली क्षेत्रबीचको आवागमन सहज बनाउन त्रिशूली खोलामा फेरि तुइन जडान गरिने भएको छ।

त्रिशूलीपारिको आवागमन पुनः सञ्चालन गर्ने उद्देश्यले संघीय सरकारको प्राविधिक सहयोग तथा बागमती प्रदेश सरकारको आर्थिक व्यवस्थापनमा विदुर-१ गुम्बाबाट विदुर-१ इन्द्रायणी चउरमा तुइन जडान कार्य आजदेखि सुरु भएको हो।

सम्बन्धित निकायले आजै तुइन जडानको काम सम्पन्न गरी आवतजावत सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ। बाढीका कारण सडक र पुलमा क्षति पुगेपछि स्थानीयवासीको दैनिक आवागमनमा समस्या उत्पन्न भएको थियोे ।

यसैबीच, विपद्बाट प्रभावित जिल्लामा तत्काल राहतका लागि बागमती प्रदेश सरकारले स्थानीय तहमार्फत रकम पठाउने निर्णय गरेको छ। प्रदेश सरकारले रसुवाका लागि एक करोड रुपैयाँ, नुवाकोटका लागि एक करोड रुपैयाँ, धादिङका लागि ५० लाख रुपैयाँ र चितवनका लागि ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने जनाएको छ।

त्यस्तै, बागमती प्रदेशभित्रका विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारमार्फत प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

प्रदेश सरकारले विपद्पछि तत्काल राहत तथा उद्धारमा केन्द्रित रहेर दोस्रो चरणमा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाउने जनाएको छ। भोटेकोशी बाढीले आधुनिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएसँगै प्रभावित क्षेत्रमा फेरि तुइनको सहारामा आवागमन गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्