त्रिशूली बाढीपीडितलाई हवाईमार्गबाट राहत, उद्धारमा तीव्रता
रसुवा,भदौ १५ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक तथा पुल बगेर स्थलमार्ग अवरुद्ध भएपछि सरकारले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा हवाईमार्गबाट राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
सरकारले आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरेको छ।हवाई कम्पनीहरूको सहयोगमा प्रभावित क्षेत्रमा खाद्यान्न, नुन, तेललगायत अत्यावश्यक सामग्री ढुवानी गरी वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार मात्रै देशका विभिन्न हवाई कम्पनीका हेलिकप्टरमार्फत २०० भन्दा बढी उडान भएका थिए। प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने क्रममा फर्किंदा गोसाइँकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रीको समेत उद्धार गरिएको उहाँले बताउनुभयो।
सवारीसाधनको सहज पहुँच रहेको नुवाकोटको बट्टारबाट राहत सामग्री प्रभावित क्षेत्रसम्म हवाईमार्गबाट पुर्याइएको छ। सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उद्धार तथा राहत वितरणलाई बिहानैदेखि निरन्तरता दिइएको अधिकारीले बताउनुभयो।
सरकारको निर्देशनअनुसार सबै सरोकारवाला निकायको समन्वय र सहयोगमा उद्धार, राहत वितरणसँगै प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैबीच, बाढीको त्रासका कारण काठमाडौँ पुगेका तथा अध्ययनका सिलसिलामा काठमाडौँमा रहेका रसुवा र नुवाकोटका प्रभावित परिवारले काठमाडौँमै राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
रसुवाको उत्तरगया क्षेत्रका बाढी प्रभावित शिव लामिछानेका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा रसुवा बाढीबाट विस्थापित ९० घरपरिवार अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। विपद्का बेला आश्रय दिइएको स्वयम्भूस्थित यलो गुम्बामा रहेका बाढीपीडितले समेत सरकारबाट राहतको अपेक्षा गरिरहेका छन्।
बाढीले थातथलो, घरसम्पत्ति र परिवारका सदस्यसमेत गुमाएका पीडितहरू अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्।उनीहरूले तत्काल खाद्यान्न, आवास तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गरी आफूहरूको पुनःस्थापनामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

