रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा सेनाको खोजी सकियो, मानवीय उपस्थिति भेटिएन
रसुवा,भदौ १५— भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिस हुनसक्ने आशङ्कामा गरिएको खोजी कार्य पूरा भएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का भएपछि नेपाली सेनाको उद्धार टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा खटिएको थियो। टोलीले सुरुङको भित्री भागमा प्रवेश गरी अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत प्रयोग गर्दै विस्तृत रूपमा खोजी गरेको थियो।
खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति नभेटिएको सेनाले पुष्टि गरेको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको र अवस्था सुरक्षित रहेको निश्चित भएपछि खोजी कार्य औपचारिक रूपमा सम्पन्न गरिएको हो।
खोजी कार्य सम्पन्न भएपछि नेपाली सेनाको उद्धार टोली रसुवाको धुन्चे फर्किएको छ।

