रसुवा बाढीका मृतकको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
काठमाडौं,भदौ १५ । रसुवामा आएको भीषण बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको जनाएको छ। कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले यस्तो सेवा सुरु गरिएको जानकारी दिए।
निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आग्रह गरेको छ। वैद्यलाई ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
यससम्बन्धी थप जानकारीका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। विपद्को समयमा एक–अर्कालाई सहयोग गर्दै मानवीयता जोगाउने उद्देश्यले कोषले निःशुल्क दाहसंस्कारको व्यवस्था गरेको सदस्य भण्डारीले बताए।

