बाढीमा ७३ परिवारका सदस्य बेपत्ता, बालबालिकाको शिक्षा र राहतका लागि भोटेकोसी गाउँपालिकाले पहल थाल्यो
सिन्धुपाल्चोक, भदौ १५ — रसुवाको भोटेकोसी खोलामा आएको बाढीबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएपछि गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। बाढीमा गाउँपालिकाका एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।
बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ। गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु लामाका अनुसार बेपत्ता भएका ७३ परिवारका सदस्यको पारिवारिक अवस्थासहितको विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरिएको छ।
गाउँपालिकाले बेपत्ता परिवारका सदस्यसँग प्रत्यक्ष छलफल गरी उनीहरूको तत्काल आवश्यकता पहिचान गर्न थालेको छ।परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि बालबालिकाको शिक्षा, खानपान तथा दैनिक जीवनयापनमा गम्भीर समस्या उत्पन्न भएको अध्यक्ष लामाले बताए।
उनका अनुसार प्रभावित परिवारका बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन सहयोगको योजना अघि बढाइनेछ। राहत तथा पुनःस्थापनाका विषयमा गाउँपालिकाले सर्वदलीय बैठकसमेत आयोजना गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय सरकार, व्यवसायी र अन्य सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामाले बेपत्ता परिवारका बालबालिकाको शिक्षाका लागि गाउँपालिका र स्थानीय व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए। प्रभावित परिवारका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म अध्ययन गर्ने वातावरण बनाउन समन्वय सुरु गरिएको उनले जानकारी दिए।उनका अनुसार बाढीबाट प्रभावित धेरै परिवार दैनिक ज्यालादारी, सवारीसाधन चलाउनेलगायतका कामबाट घरखर्च धान्दै आएका थिए। परिवारको मुख्य आम्दानीको स्रोत नै बन्द भएपछि उनीहरू थप आर्थिक संकटमा परेका छन्।
भोटेकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले बेपत्ता परिवारको वास्तविक अवस्था पहिचान गर्न घरपरिवारका सदस्य संख्या, वर्तमान अवस्था र तत्काल आवश्यक सहयोगबारे तथ्यांक संकलन भइरहेको बताए। गाउँपालिकाले बेपत्ता तथा परिवारका सदस्य गुमाएका परिवारलाई तत्काल खाद्यान्न र आर्थिक राहत उपलब्ध गराउनुका साथै बालबालिकाको शिक्षा, दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनका लागि स्थानीय सरकार, व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने तयारी गरेको छ।

