भोटेकोशी बाढी उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक



काठमाडौं,भदौ १५। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा परेकाहरूको खोज तथा उद्धारका लागि आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेको जनाएको छ।

बाढी प्रभावितको खोज, उद्धार तथा राहतबारे जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बेपत्ता तथा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि अत्याधुनिक ड्रोन, ड्रिलिङ मेसिन, शव राख्ने रेफ्रिजेरेटरलगायतका सामग्री आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार नेपाल, भारत, चीन, कोरियालगायत विभिन्न देशका उद्धार टोलीको सहयोगमा हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ सय ३ शव निकालिएको छ। यस्तै, ३ सय २३ विदेशी नागरिकसहित १० हजारभन्दा बढी मानिसको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

उपलब्ध तथ्याङ्कअनुसार अझै ३९ देशका करिब ५ सय ९० विदेशी नागरिक बेपत्ता रहेको बताइएको छ। मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायबाट प्राप्त थप प्रमाणित विवरणलाई नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्