भोटेकोशी बाढीका कारण नुवाकोट विदुरका सबै विद्यालय बन्द



नुवाकोट,भदौ १५ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिपछि विदुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने भएका छन्।

विदुर नगरपालिकाले सोमबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म नगरक्षेत्रभित्र सञ्चालित सबै विद्यालय बन्द रहने जनाएको हो।

नगरपालिकाका अनुसार बाढीका कारण केही विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही शिक्षक तथा विद्यालय कर्मचारीसहित सयौँ विद्यार्थी र उनीहरूका अभिभावकसमेत बेपत्ता भएका छन्। विपद्का कारण शिक्षक, विद्यार्थी तथा अभिभावकमा मनोवैज्ञानिक त्रासको अवस्था रहेकाले तत्काल विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति, नुवाकोट र विदुर नगरपालिकाको भदौ १५ गतेको निर्णयअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले जारी गरेको सूचनामा अर्को निर्णय नभएसम्म नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्