भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनामा सरकार सक्रिय : प्रधानमन्त्री शाह
काठमाडौं,भदौ १५ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको छैटौँ दिनसम्म सरकार खोज, उद्धार, उपचार, राहत तथा नागरिकको सुरक्षित व्यवस्थापनमा सक्रिय रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विपद्को समयमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। उनले विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार तथा मित्रराष्ट्र र स्वदेशी–विदेशी संघसंस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा राहत पुर्याउन रसुवा, नुवाकोट र धादिङमा चारवटा संकलन केन्द्र तथा रसुवा र नुवाकोटमा २७ वटा वितरण केन्द्र सञ्चालनमा छन्। ती केन्द्रमार्फत हालसम्म तीन हजार ६ सय ९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको छ।
आर्थिक सहयोगतर्फ प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा पाँच अर्ब ८७ करोड ९२ लाख २३ हजार ८ सय ४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २ सय ३८ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्।
बाढीका कारण विच्छेद भएको नुवाकोटको त्रिशूलीपारिको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको प्रधानमन्त्री शाहले बताएका छन्।
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएकाले अस्थायी पुल निर्माणलाई पनि सरकारले प्राथमिकता दिएको छ। भारतबाट एउटा मोडुलर स्टिल पुल तथा थप सातवटा बेलीब्रिज प्राप्त हुने र चीनबाट ३० वटा बेलीब्रिज प्राप्त हुने तयारी रहेको उनले जानकारी दिएका छन्।
उद्धारतर्फ हालसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार भइसकेको र तीन हजार ९ सय २५ जना सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ७९ घाइतेमध्ये १ सय ६८ जना डिस्चार्ज भइसकेका छन्।
जलविद्युत् आयोजनामा फसेका नागरिकको उद्धार पनि जारी रहेको छ। नेपाली सेनाले विभिन्न आयोजनाबाट हालसम्म २ सय ७९ जनाको उद्धार गरिसकेको प्रधानमन्त्री शाहले बताएका छन्।रसुवागढी जलविद्युत् आयोजनाबाट दुई, मैलुङ खोला आयोजनाबाट नौ, माथिल्लो त्रिशूली–एकबाट २ सय ५४, माथिल्लो त्रिशूली–तीन बीबाट दुई तथा अन्य आयोजनाबाट समेत उद्धार गरिएको उनले जानकारी दिएका छन्।
बाढीमा ज्यान गुमाएकाहरूको शव कानूनअनुसार वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। हालसम्म ९ सय ३९ जनाको शव फेला परेको र पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले जानकारी दिएका छन्।
विद्युत् सेवातर्फ रसुवामा करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुनःस्थापना भएको, नुवाकोटमा ८५ प्रतिशत क्षेत्रमा सेवा सुचारु भइसकेको र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भएको प्रधानमन्त्री शाहले बताएका छन्। नुवाकोटको बाँकी क्षेत्रमा पाँच दिनभित्र तथा धादिङको सम्पूर्ण क्षेत्रमा दुई दिनभित्र विद्युत् सेवा पुनःस्थापना गर्ने गरी काम भइरहेको उनको भनाइ छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १ सय २० मध्ये १ सय १० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।प्रधानमन्त्री शाहले भोटेकोशी बाढी सामान्य बाढी नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको संकेत गरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।
उनका अनुसार सरकारले उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाको तयारी पनि अघि बढाएको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण संकलन भइरहेको छ। घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएका नागरिकलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने काम सरकारको अबको प्राथमिकता हुने प्रधानमन्त्री शाहले बताएका छन्।

