भोटेकोशी बाढी प्रभावितका लागि एमालेले ४० सदस्यीय राहत तथा पुनःनिर्माण समिति गठन
काठमाडौं,भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि ४० सदस्यीय केन्द्रीय सहयोग समिति गठन गरेको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीका केन्द्रीय सचिव तथा बागमती प्रदेशका सचिव महेश बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा बाढी प्रभावित जिल्लाका पार्टी नेतृत्व तथा भातृ सङ्गठनका प्रमुखलाई समेटिएको छ। समितिअन्तर्गत विभिन्न कार्यक्षेत्र निर्धारण गरी सदस्यहरूलाई जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ।
कार्यविभाजनअनुसार समितिको टोली यही भदौ १६ गते रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जाने एमालेले जनाएको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै राहत, उद्धार, पुनःस्थापना र पुनःनिर्माणका लागि आवश्यक सहयोग तथा समन्वय गर्नेछ।
यसअघि एमाले महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको टोलीले नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा उल्लेखित सुझावका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज समिति गठन गरी कार्यविभाजनसहित जिम्मेवारी तोक्नुभएको एमालेले जनाएको छ।
यसैबीच एमालेको तेस्रो केन्द्रीय कमिटीको बैठक आगामी असोज ५, ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार बैठकमा विपद्पछिको अवस्था, समसामयिक राजनीतिक विषय, पार्टीको साङ्गठनिक अवस्था र आगामी कार्यदिशालगायत विषयमा छलफल हुनेछ।

