कोलमती घाटमा आज पवित्र स्नान, करोडौँ गोदान बराबरको फल प्राप्त हुने धार्मिक विश्वास



काठमाडौं, भदौ १६ । भाद्र कृष्ण पञ्चमीका दिन गरिने प्रसिद्ध कोलमती घाटस्नान आज कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीस्थित कोलमती घाटमा गरिँदैछ ।

पौराणिक ग्रन्थ स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य) मा भाद्र कृष्ण पञ्चमीका दिन कोलमती तीर्थमा स्नान तथा दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको पुण्य प्राप्त हुने उल्लेख छ ।

नेपाल माहात्म्यको १२८औँ अध्यायमा वाग्मती नदीको तीरको वर्णन गर्ने क्रममा कोलमती तीर्थ र कोलमती घाटको धार्मिक महत्त्वबारे उल्लेख गरिएको छ । यस दिन कोलमती घाटमा स्नान गरेमा पाप पखालिएर पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो । कोलमती वाग्मतीमा मिसिने स्थानलाई कोलमती घाट भनिन्छ ।

कोलमती र वाग्मतीमा चैलमतीसमेत मिसिने भएकाले यहाँ त्रिवेणीघाट बनेको छ । पौराणिक मान्यताअनुसार वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेको जलबाट चैलमती नाम रहन गएको हो ।चैलमती अपभ्रंश हुँदै ‘चौलमती’ भएको मानिन्छ । ब्रह्माले वामनरूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिँदै आएको छ ।

कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेवको मन्दिर रहेको छ । सोही क्षेत्रमा नेपालकै पहिलो लक्ष्मी हयग्रीव मन्दिरसमेत निर्माण गरिएको छ । पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा हयग्रीव मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको आकर्षणसमेत बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्